एमाले आज

लोकतान्त्रिक अधिकार खोसिनसक्ने अवस्था सिर्जना हुनु चिन्ताको विषयः उपाध्यक्ष विष्ट

सेयर गर्नुहोस्

एमाले बुद्धभूमि नगर कमिटीको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  

२१ कात्तिक (२०८३), कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बुद्धभूमि नगर कमिटी, कपिलवस्तुको आयोजनामा बडादशैं, तिहार, छठ तथा नेपाल संवत् ११४७ का अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रम नेकपा (एमाले)का उपाध्यक्ष गोकर्ण विष्टको प्रमुख आतिथ्यमा भएको थियो । 
नगर कमिटी अध्यक्ष ध्रुवप्रसाद न्यौपानेको अध्यक्षता, सचिव कर्णबहादुर महराको सञ्चालन तथा उपाध्यक्ष रोमबहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा करिब ४०० जना अगुवा नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपाध्यक्ष गोकर्ण विष्टले नागरिक स्वतन्त्रता, लोकतन्त्र र अधिकार प्राप्तिका लागि पार्टीले ठूलो त्याग र बलिदानी गरेको स्मरण गर्दै अहिले नागरिक समाज र आम नागरिक राज्यप्रति त्रसित हुने तथा प्राप्त अधिकारसमेत खोसिन सक्ने अवस्था सिर्जना हुनु चिन्ताको विषय भएको बताउनुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलन र सामाजिक रूपान्तरणको लामो यात्रामा एमालेले अनेकौँ सङ्घर्ष र चुनौतीका घुम्ती पार गरेको उहाँले बताउनुभयो । 
विगतको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको गम्भीर समीक्षा गर्नुपर्ने धारणा राख्दै उपाध्यक्ष विष्टले भन्नुभयो–जनताको पक्षमा धेरै राम्रा काम गर्दागर्दै पनि हामीले किन जनताको विश्वास जित्न सकेनौँ ? हाम्रा कमजोरी कहाँ रहे, पार्टीभित्रका अन्तरविरोध के थिए ? र जनतासँगको सम्बन्धमा कहाँ कमी रह्यो भन्ने विषयमा इमानदार समीक्षा गर्नुपर्छ ।
जनताले निर्वाचनमा पराजित गरे पनि आफूहरूको जनताप्रति सम्मान रहेको बताउँदै उहाँले जनताको मतको सम्मान गर्दै वर्तमान सरकारका कामकारबाहीको पनि मूल्याङ्कन गर्नुपर्ने धारणा राख्नुभयो । 
देशमा पुँजी पलायन, युवा विदेश पलायन र व्यापार घाटा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उपाध्यक्ष विष्टले आजको निर्णयले भोलि जनतालाई नै पछुताउनुपर्ने अवस्था नआओस् भन्नेतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो । 
कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलराम अधिकारीले एमालेले विगतका कमजोरी सच्याउँदै नयाँ ढङ्गले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले पार्टीसंगठनलाई बलियो बनाउन नेता तथा कार्यकर्ताबीच आपसी विश्वास, सहकार्य र एकताको आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य केन्द्रीय सदस्यहरू गिरधारीलाल न्यौपाने, विमला घिमिरे, केन्द्रीय निर्वाचन आयोगका सदस्य झविलाल पोख्रेल, जिल्ला अध्यक्ष बाबुराम खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्यहरू टेकराज पौडेल, शारदा शर्मा, चन्द्रा भट्टराई, लालबहादुर सुनार, दुर्गानारायण पाण्डेय तथा प्रदेशसभा सदस्य नवराज लामिछाने लगायतको उपस्थिति थियो ।
सोही अवसरमा पार्टी प्रवेश गर्नुभएका यशोधरा गाउँपालिका–४ पोखरभिटवाका हजरत अलीलाई नेकपा (एमाले)मा स्वागत गरिएको थियो । यसअघि नेकपा माओवादी केन्द्रको जिल्ला सचिवको जिम्मेवारीसमेत सम्हाल्नुभएका अलीले एमालेको विचार, नीति र संगठनलाई बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

हामीसँग जोडिनुहोस्