एमाले आज

विश्वमै अलोकतान्त्रिक माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढ्योः अध्यक्ष ओली

सेयर गर्नुहोस्

२९ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई राष्ट्रिय समृद्धिको मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभएको छ । 
आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा नेकपा (एमाले)को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट inspire2082.org सार्वजनिक गर्दै अध्यक्ष ओलीले राजनीतिक तथा नीतिगत बहसहरू आम नागरिकको वास्तविक जीवनस्तर उठाउने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
उहाँले पार्टी र सरकारको मुख्य उद्देश्य जनताको जीवनस्तर माथि उठाउनु, गरिबी हटाउनु र विपन्नतालाई दिगो समृद्धिमा रूपान्तरण गर्नु रहेको बताउनुभयो । यसका लागि आम्दानीका स्रोत सिर्जना गर्ने, उत्पादन बढाउने र परिवारका आधारभूत आवश्यकता पूरा गर्न सक्ने रोजगारीका अवसर उपलब्ध गराउनेतर्फ विशेष ध्यान दिनुपर्ने अध्यक्ष ओलीको भनाइ थियो ।
रोजगारीको मूल्याङ्कनसम्बन्धी आफ्नो दृष्टिकोण राख्दै उहाँले  रोजगारीको मूल्य काम गरेको समयले नभई त्यसबाट प्राप्त हुने पर्याप्त आम्दानीले निर्धारण गर्ने स्पष्ट पार्नुभयो । 
अध्यक्ष ओलीले नागरिकलाई आर्थिक रूपमा सुरक्षित र सबल बनाउन सामान्य अल्मलिने वा नाम मात्रको होइन, परिवारको सम्पूर्ण आधारभूत आवश्यकता पूरा गर्न पुग्ने गुणस्तरीय र मर्यादित रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
आफ्नो राजनीतिक तथा सामाजिक मान्यताको मूल आधार मानवतावाद भएको उल्लेख गर्दै उहाँले प्रत्येक नागरिकले खान, लाउन, बस्न, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाजस्ता आधारभूत आवश्यकता सहज रूपमा पूरा गर्न सक्ने वातावरण निर्माण गर्नु राज्यको मुख्य दायित्व भएको बताउनुभयो ।
जात, वर्ग वा समुदायका आधारमा कुनै पनि किसिमको विभेद नगरी आम जनतालाई नै प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो । अन्ततः सत्य, न्याय र समानताको बाटोबाट मात्रै समग्र समाजको कल्याण र समतामूलक समृद्धि हासिल गर्न सकिने उहाँको दृढोक्ति थियो ।
नीति निर्माण प्रक्रियाको चर्चा गर्दै अध्यक्ष ओलीले पार्टी र सरकार सञ्चालन गर्दा परम्परागत वा मनगढन्ते तवरले नभई गहिरो अनुसन्धान र यथार्थ तथ्याङ्कका आधारमा निर्णय लिनुपर्ने बताउनुभयो । गाउँका सामान्य जनतादेखि देशका मूर्धन्य बुद्धिजीवी र विज्ञहरूको सल्लाह र सुझावलाई आत्मसात गरेर बनाइएका नीतिले मात्र नतिजा दिन सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 
वर्तमान विश्व व्यवस्थामा आएको फेरबदलबारे टिप्पणी गर्दै अध्यक्ष ओलीले आज अलोकतान्त्रिक, षड्यन्त्रकारी र पपुलिस्ट माध्यमबाट सरकार ढाल्ने र लोकप्रिय नेताहरूलाई बदनाम गर्ने प्रवृत्ति बढेको बताउनुभयो । यस्ता अराजक र षड्यन्त्रकारी प्रवृत्तिका विरुद्ध राजनीतिक रूपमा अत्यन्त सजग र सतर्क रहनुपर्नेमा उहाँले जोड दिनुभयो । 
जलवायु सङ्कटको प्रसङ्ग जोड्दै अध्यक्ष ओलीले भोटेकोशीमा आएको बाढी सामान्य मौसमी घटना नभई हिमालयमा भइरहेको गम्भीर जलवायु सङ्कटको चेतावनी भएको बताउनुभयो । दक्षिण एसियाको प्राकृतिक ‘वाटर टावर’को रूपमा रहेको हिमालय क्षेत्रको पर्यावरण जोगाउन ‘सगरमाथा संवाद’ जस्ता मञ्चमार्फत क्षेत्रीय सहकार्य र विश्वव्यापी रूपमा सशक्त पैरवी आवश्यक रहेको उहाँले औल्याउनुभयो । 
प्रतिष्ठानले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत तथा भूराजनीतिक विषयमा अध्ययन, अनुसन्धान र नीतिगत बहसलाई अघि बढाउने उद्देश्यसहित वेबसाइट सञ्चालनमा ल्याएको हो ।
वेबसाइट सार्वजनिक कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालले इन्स्पायरले नेपालले सामना गरिरहेका विविध चुनौतीको अध्ययन तथा अनुसन्धान गर्ने जानकारी दिनुभयो । 
उहाँका अनुसार प्रतिष्ठानले नीतिनिर्माता, विषयविज्ञ तथा सरोकारवालालाई एकै ठाउँमा ल्याएर विभिन्न विषयमा छलफल र बहस सञ्चालन गर्दै आएको छ ।
ज्ञान उत्पादन र रणनीतिक बहसलाई सहजीकरण गर्दै नेपालको लोकतान्त्रिक, समाजवादउन्मुख तथा राष्ट्रिय विकासको एजेन्डामा योगदान पु¥याउने लक्ष्य प्रतिष्ठानले राखेको रिमालले बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष रिमालले एमालेलाई नीतिगत रूपमा बलियो बनाउने तथा राजनीतिभन्दा बाहिर समाजमा भइरहेका बहस र उठिरहेका विषयलाई राजनीतिको मूल प्रवाहमा ल्याउने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याइएको स्पष्ट पार्नुभयो । 
उहाँका अनुसार समाजका विभिन्न क्षेत्रबाट आएका विचार, अध्ययन र अनुसन्धानलाई पार्टीको नीतिनिर्माण प्रक्रियासँग जोड्ने प्रयास गरिएको हो । 
कार्यक्रममा वेबसाइटमा प्रकाशित सामग्री तथा तिनले उठाएका विषयमाथि डा. युवराज खतिवडा, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, डा. नेत्र तिम्सिना, डा. विष्णुराज उप्रेती, प्रज्ञा अधिकारी, डा. टीका ढकाल र विनोद पाण्डेले धारणा राख्नुभएको थियो । 
उहाँहरूले वेबसाइटमा समेटिएका अध्ययन सामग्री तथा नीतिगत बहसका विषयमा प्रकाश पार्नुभएको थियो । 
सुरक्षा तथा विदेश मामिला विज्ञ डा. विष्णुराज उप्रेतीले आधुनिक राज्य सञ्चालनमा नीति अनुसन्धान र थिङ्क ट्याङ्कको भूमिका अपरिहार्य हुने बताउँदै भू–राजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर राष्ट्रिय सुरक्षा नीतिको पुनर्संरचना गर्नुपर्ने सुझाव दिनुभयो ।
त्यसैगरी जनसङ्ख्या तथा मानव विकास विज्ञ प्रा. डा. योगेन्द्रबहादुर गुरुङले नेपालमा जनसङ्ख्या वृद्धिदर घटे पनि हाल ६५.२ प्रतिशत सक्रिय जनशक्ति ‘जनसांख्यिक लाभ’को अवस्थामा रहेकाले यसलाई शिक्षा र रोजगारीसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।
जलवायु तथा विपद् व्यवस्थापन अध्येता डा. नेत्रप्रसाद तिम्सिनाले भोटेकोशीको बाढीलाई जलवायुजन्य विपद्का रूपमा परिभाषित गर्दै अन्तर्राष्ट्रिय जलवायु कोषमा क्षतिपूर्तिको अधिकारसहित दाबी पेस गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बहस पत्र प्रस्तुत गर्दै वरिष्ठ अर्थशास्त्री एवं पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली समाजमा अझै पनि ६० प्रतिशतभन्दा बढी परिवार अति निम्न र निम्न÷मध्यम वर्गमा रहेको तथ्याङ्क प्रस्तुत गर्दै एमालेका नीतिहरू गरिबी निवारण, सामाजिक सुरक्षा र उत्पादनमुखी अर्थतन्त्रमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
वेबसाइट नेपाली र अंग्रेजी दुवै भाषामा 
वेबसाइट inspire2082.org  नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ । वेबसाइटमा अर्थ–राजनीति, समाज अध्ययन, प्राकृतिक स्रोत, प्रविधि तथा नवप्रवर्तन र परराष्ट्र मामिलासहित पाँचवटा विषयगत विधा समेटिएका छन् ।
वेबसाइटमा इन्स्पायरले यसअघि सञ्चालन गरेका नीतिगत बहसका कार्यपत्र, विशेष प्रतिवेदन तथा जर्नल आलेखहरू प्रकाशित गरिएका छन् । हालसम्म आठवटा कार्यपत्र र चारवटा विशेष प्रतिवेदन समावेश गरिएको प्रतिष्ठानले जनाएको छ ।
वेबसाइटमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आलोकमा जनताको बहुदलीय जनवाद, बदलिँदो जनसाङ्ख्यिक संरचना, नेपाली समाजको रूपान्तरण, उत्पादन सम्बन्ध, राष्ट्रिय सुरक्षा नीति, विश्वको अर्थ–राजनीति, शक्ति सन्तुलन, आप्रवासनबाट उत्पन्न संरचनात्मक परिवर्तन तथा समाजको वर्ग विश्लेषणलगायत विषयमा अध्ययन सामग्री राखिएका छन् ।
त्यस्तै, ‘किताबका कुरा’ र ‘युथ इग्नाइट’ लगायतका शीर्षकमा पनि सामग्री उपलब्ध छन् । यसले विभिन्न विषयमा भएका अध्ययन, अनुसन्धान र बहसलाई व्यवस्थित रूपमा पाठकसमक्ष पु¥याउने अपेक्षा गरिएको छ ।
नीतिगत बहसका निष्कर्ष ‘पोलिसी ल्याब’मा
इन्स्पायरका कार्यकारी निर्देशक आशिष रेग्मीका अनुसार वेबसाइटमा प्रकाशित सामग्रीका आधारमा हुने नीतिगत बहसबाट प्राप्त नयाँ विचारलाई ‘पोलिसी ल्याब’मा समेटिनेछ । यसले अध्ययन तथा अनुसन्धानबाट प्राप्त निष्कर्षलाई नीतिगत छलफलसँग जोड्न सहयोग पुग्ने उहाँको भनाइ छ ।
वेबसाइटको नेपाली भाषाको सम्पादक रामशरण बजगाईं र अंग्रेजी भाषाको सम्पादक बालकृष्ण कट्टेल रहनुभएको छ । 

हामीसँग जोडिनुहोस्