२८ असोज (२०८३), नुवाकोट । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट घरबारविहीन भएकाहरुका लागि नुवाकोटको विदुर नगरपालिकाको पिपलटारमा बनाइएका १८ वटा अस्थायी घरटहरा आज पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको छ ।
२०८३ भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई आवासको व्यवस्था गर्ने उद्देश्यले नेकपा (एमाले)द्वारा निर्माण सामग्रीका साथै स्वयंसेवक परिचालन गरी ती घरटहरा निर्माण गरिएको हो ।
नेकपा (एमाले)को जनसंगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को नेतृत्वमा स्वयंसेवकहरूको सहभागितामा निर्माण गरिएका अस्थायी आवासको पहिलो चरणको काम सम्पन्न भएसँगै पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
अस्थायी आवासमा शौचालय, बिजुली र पानीलगायत आधारभूत सुविधाको व्यवस्था गरिएको छ ।
बाढीका कारण घरबार गुमाएका परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले अस्थायी घरटहरा निर्माण अभियान सञ्चालन गरिएको हो । निर्माण अभियानमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा स्वयंसेवकहरू सहभागी भएका थिए ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले नुवाकोट, रसुवा र धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको थियो । नेकपा (एमाले) भोटेकोशीमा बाढी आएलगत्तै जनसंगठनहरु र स्थानीय पार्टी कमिटी गरी सयौं स्वयंसेवक परिचालन गरी बाढी पीडितहरुको उद्धार तथा राहतको काममा जुटेको थियो ।
आवास हस्तान्तरणपछि सङ्क्षिप्त सम्बोधन गर्दै अध्यक्ष ओलीले भोटेकोशी र त्रिशुलीमा आएको बाढीले धेरै मानिसहरुलाई घरबारविहीन बनाएको र आज कमसेकम अठार परिवारलाई छाना मिलेको बताउनुभयो ।
अस्थायी आवासबाट पीडितहरुका लागि ओतको व्यवस्था भएकाले अलिकति मलम लगाएजस्तो होला भन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । तिहारपछि थप १८ वटा घरटहरा बनाउने सोच रहेको जानकारी गराउँदै अध्यक्ष ओलीले बाढी पीडितहरुका लागि पार्टीको तर्फबाट अधिकतम सहयोग गर्ने कोसिस हुने छ भन्नुभयो ।
उहाँले अस्थायी आवास निर्माणको काममा संलग्न स्वयंसेवकहरुलाई उदाहरणीय र प्रशंसायोग्य काम गरेकोमा धन्यवाद दिनुभयो ।
अध्यक्ष ओलीद्वारा बाढीबाट घरवारविहीन १८ परिवारलाई अस्थायी आवास हस्तान्तरण
सेयर गर्नुहोस्
