२७ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि बाँचुन्जेल सङ्घर्ष गरिरहने बताउनुभएको छ ।
पार्टीको सम्पर्क विशेष संगठन कमिटीले आइतबार (असोज २५ गते) काठमाडौंमा आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले व्यक्तिगत स्वार्थका लागि नभई देशका लागि राजनीति गरेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– मलाई के हुन्छ भन्ने कुराको कुनै चिन्ता छैन किनभने मैले मेरा लागि कामै गरेको होइन । मरिन्छ, यो देशका लागि ।
आफूले साढे पाँच दशकभन्दा बढी समय देश र जनताको हितका लागि राजनीतिमा बिताएको उल्लेख गर्दै उहाँले जीवनको अन्तिम समयसम्म सङ्घर्ष जारी राख्ने अठोट व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– कुन दिन मरिन्छ भन्ने थाहा छैन, नमरुञ्जेल लडिन्छ । बाँचुन्जेल बैरीसँग झुकिँदैन ।
सम्बोधनका क्रममा महाभारतका भीष्म पितामहको प्रसङ्ग जोड्दै उहाँले आफूमाथि विभिन्न किसिमका प्रहार भइरहेको तर जति प्रहार भए पनि आफू नढल्ने बताउनुभयो ।
अध्यक्ष ओलीले ५७ वर्षअघि राजनीतिक आन्दोलनको पुनर्गठन, एकीकरण र क्रान्तिकारी आन्दोलन सुरु गरेको स्मरण गर्दै त्यतिबेला पञ्चायती व्यवस्था अन्त्य गर्ने र राजतन्त्र ढाल्ने उद्देश्य राखिएको र ती उद्देश्य आफ्नो जीवनकालमै पूरा भएको बताउनुभयो ।
