-एमालेविरुद्धको घेराबन्दी सिद्धिएको छैन, चुनौतीहरुको सामना गर्न पार्टी सुदृढ एकताका साथ अगाडि बढ्नु आजको आवश्यकता
२६ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले स्थायी कमिटीको बैठकबाट मनोनीत केन्द्रीय कमिटीका सदस्यहरुलाई शपथ ग्रहण गराउनुभएको हो ।
शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी काममा योजना बनाई सक्रिय भएर लाग्न निर्देशन दिनुभयो । विगतको योगदानसँगै क्षमता र सक्रियताका आधारमा पनि मूल्याङ्कन हुने हुँदा जिम्मेवारी पाएपछि त्यसलाई प्रभावकारी रूपमा पूरा गर्नुपर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले कुनै विषयमा जतिसुकै विज्ञता भए पनि व्यवहारमा सक्रिय भएर काम नगर्ने हो भने त्यसको अर्थ नहुने बताउनुभयो । पार्टीमा जिम्मेवारी निर्वाह गर्न ज्ञान र अनुभवसँगै कामप्रतिको सक्रियता पनि आवश्यक रहेको उहाँको भनाइ थियो ।
लामो परिश्रम, त्याग र पार्टीको विश्वास जितेपछि मात्रै जिम्मेवारी प्राप्त हुने उल्लेख गर्दै अध्यक्ष ओलीले अब आफूले पाएको जिम्मेवारी कसरी पूरा गर्ने भन्ने विषयमा सबैको परीक्षा सुरु भएको बताउनुभयो ।
उहाँले केन्द्रीय सदस्यहरूलाई पार्टीले दिएको जिम्मेवारीअनुसार सक्रियतापूर्वक काम गर्न र आफ्नो क्षमता व्यवहारमै देखाउन निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले विरोधीका षड्यन्त्र चिर्न नसक्दा गत निर्वाचनमा पार्टी पछिपरेको र अहिले पनि एमाले विरुद्धको घेराबन्दी नसिद्धिएको बताउँदै चुनौतीहरुको सामना गर्न पार्टी सुदृढ एकताका साथ अगाडि बढ्नु आजको आवश्यकता हो भन्नुभयो ।
सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने र जनताको नजरमा गिराउने काम भइरहेको उहाँले बताउनुभयो ।
अहिले देशमा राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर पारिएको, लोकतन्त्र खोसिएको अवस्था रहेको र त्यसको पुनर्वापसी अनिवार्य शर्त भएको बताउँदै अध्यक्ष ओलीले त्यसका लागि आन्दोलन गर्नुपर्ने हुन्छ भन्नुभयो ।
आन्दोलन र क्रान्ति सधैँ सीधा रेखामा अघि नबढ्ने बताउँदै उहाँले पार्टी चुनौतीहरूको सामना गर्दै अघि बढ्न सक्नुपर्ने बताउनुभयो ।
समाजवादी आन्दोलन सत्य, न्याय र मानवतावादको आन्दोलन भएको प्रष्ट पार्दै अध्यक्ष ओलीले यस आन्दोलनलाई सिद्ध्याउँछौँ भनेर लाग्नु मुर्खता भएको बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय कमिटीमा मनोनीत दशजना सदस्यहरु टङ्क आङ्वोहाङ, डवल पाण्डे, तेजमान कन्दङवा, तेजेन्द्र केसी, धर्मनाथ साह, नवीन रोक्का, मीनप्रसाद गुरुङ, सावित्रा अर्याल, सिर्जना राई र सीता पंगेनीले शपथ ग्रहण गर्नुभएको थियो ।
