एमाले आज

अहिले पार्टीमा पुनर्गठन होइन, पुनर्जागरण आवश्यक छः अध्यक्ष ओली

सेयर गर्नुहोस्

३१ साउन (२०८३), झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टीमा पुनर्गठन नभई पुनर्जागरण र संगठन सुदृढीकरण आवश्यक रहेको बताउनुभएको छ । 
आज झापामा पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले पार्टी पुनर्गठन गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । 
विगतमा भएका पार्टी पुनर्गठनको चर्चा गर्दै पहिलोपटक २०१९ सालमा पार्टी पुनर्गठन भएको, २०२८ सालमा आफूहरुको नेतृत्वमा अर्को पुनर्गठन भएको र त्यसपछि २०७७–७८ सालमा पनि आफ्नै नेतृत्वमा पार्टी पुनर्गठन भएको उहाँले स्मरण गराउनुभयो । 
२०७५ सालमा पार्टी एकीकरणपछि एमाले झन्डै दुईतिहाइको शक्तिका रूपमा स्थापित भएको स्मरण गर्दै अध्यक्ष ओलीले त्यसपछि पार्टीभित्रका केही ‘घुसपैठिया’ र ‘कुण्ठाग्रस्त प्रवृत्ति’का कारण पार्टी विभाजन भएको बताउनुभयो । 
अहिले पार्टी पुनर्गठनको कुरा वास्तविक नभएको उहाँको भनाइ छ । कुनै कमिटी वा जनसंगठनको पुनर्गठन हुनसक्ने भए पनि विगतमा भएका पुनर्गठनजस्तो अहिलेको अवस्था नभएको अध्यक्ष ओलीले स्पष्ट पार्नुभयो । 
उहाँले भन्नुभयो– पुनर्गठन भनेको एउटा नीति, गन्तव्य, सङ्घर्ष र कार्यक्रमसम्म नयाँ बनाउने कुरा हो, आज पुनर्गठनको बेला होइन, पुनःजागरणको कुरा हो ।
पार्टी सदस्यताको तुलनामा निर्वाचनमा मत कम आउनु गम्भीर विषय भएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेमा वास्तविक नवीकरण र पुनःजागरण आवश्यक रहेकोमा जोड दिनुभयो ।  उहाँले नयाँ सदस्य थप्दै संगठनलाई चलायमान बनाउन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
पार्टीभित्र असन्तुष्टि व्यक्त गर्ने विषयमा पनि अध्यक्ष ओलीले नेतृत्वको आलोचना सामाजिक सञ्जाल र हस्ताक्षर अभियानमार्फत नभई पार्टीको आन्तरिक विधिबाट गर्नुपर्ने बताउनुभयो । अध्यक्ष हटाउन सामाजिक सञ्जालमा अभियान चलाउने वा हस्ताक्षर सङ्कलन गर्ने काम अनुशासनहीनता र अराजकता भएको उहाँको भनाइ थियो । 
अध्यक्ष ओलीले पार्टीभित्र लोकतन्त्र रहेको बताउँदै आफूविरुद्धका आलोचना सुन्न तयार रहेको तर पार्टीका विषय बाहिर लगेर विरोधीका लागि हाँसोको विषय बनाउन नहुने भनाइ राख्नुभयो ।
पार्टीभित्र अवसर पाएका केही व्यक्तिमात्र असन्तुष्ट रहेको बताउँदै उहाँले भन्नुभयो– पाएका असन्तुष्ट छन्, खाएका असन्तुष्ट छन्, पर्याप्त अवसर लिनेहरू असन्तुष्ट छन् ।
‘मैले हप्काएर मान्छे बेहोस भयो भनेर प्रचार भएको छ’, अध्यक्ष ओलीले भन्नुभयो–  मैले जीवनमा अहिलेसम्म कडा बचन, कडा स्वर कहिल्यै कसैलाई गरेकोे थिएँ भने हात उठाएर भन्नुहोस्, यहाँ कोही मालिक र कोही दास छैनन् ।
उहाँले गतबर्ष भदौ २३ र २४ गते देश जलाएर गरिएको आन्दोलनलाई फागुन २१ गतेको निर्वाचनमार्फत वैधता दिने काम भएको धारणा राख्नुभयो । 
प्रतिनिधिसभा पुनःस्थापनाको मागमा अन्य राजनीतिक दलहरूले साथ नदिएको उल्लेख गर्दै ‘फागुन २१ को चुनाव’ एमालेका लागि खनिएको खाल्डो ठानेर बसेका दलहरू आफैँ त्यसमा फसेको अध्यक्ष ओलीको भनाइ थियो । 
निर्वाचनका क्रममा एमालेमाथि चौतर्फी हमला भएको र सहज रूपमा हिँडडुल गर्ने वातावरणसमेत नरहेको स्मरण गर्दै उहाँले चुनावमा पराजय भोग्नुपरे पनि एमाले कायर र भगौडाहरूको पार्टी नभएको स्पष्ट पार्नुभयो । 
एउटा मोर्चामा हार्दैमा समग्र युद्ध नहारिने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– एक गोल खाएका छौँ, अब १० गोल फर्काउन कसैले रोक्न सक्दैन ।
उहाँले उच्च मनोबलका साथ अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले देशमा प्रतिगमन भइरहेको दाबी गर्दै त्यसलाई सच्याउन र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न आन्दोलन तथा जागरण अभियान आवश्यक रहेको बताउनुभयो । 
आगामी प्रदेश र स्थानीय निर्वाचनलाई लक्षित गर्दै हरेक वडामा ५१ प्रतिशतभन्दा बढी मत ल्याउने गरी टोल, बस्ती र घरघरमा पुगेर संगठन विस्तार गर्न कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । नागरिक, विशेषगरी महिला मतदाताले यसपटक गलत ठाउँमा मतदान गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले जनता र पार्टी दुबैबाट भएका कमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
देशमा मधेसी–पहाडी, दलित–गैरदलित, नयाँ–पुराना तथा धर्मका नाममा साम्प्रदायिक हिंसा र विभाजन फैलाउने तत्व सक्रिय रहेको बताउँदै उहाँले त्यस्ता गतिविधि रोक्नुपर्ने बताउनुभयो । 
आफ्नो नेतृत्वको सरकारले गरेका विकास निर्माणका कामको चर्चा गर्दै अध्यक्ष ओलीले हुलाकी, मदन भण्डारी र पुष्पलाल राजमार्ग निर्माणदेखि ताप्लेजुङ र हुम्लाजस्ता दुर्गम क्षेत्रमा सडक तथा कालोपत्रे पुर्याउने काम एमालेकै नेतृत्वमा भएको स्मरण गराउनुभयो । 
महाभूकम्पका बेला २८ हजार अस्थायी घर निर्माण गरी पीडितलाई हस्तान्तरण गरिएको, १३ हजार विद्यालय पुनर्निर्माण गरिएको तथा कोभिड–१९ को सङ्कटमा एमालेका कार्यकर्ताले स्वयंसेवकका रूपमा उदाहरणीय काम गरेको पनि उहाँले स्मरण गर्नुभयो । 
अध्यक्ष ओलीले आफू हवाई यात्रा गर्दा विमानस्थलमा पटक–पटक कडा चेकजाँचको ‘तमासा’ गरिएकोप्रति रोष प्रकट गर्नुभयो । 

नेकपा (एमाले) झापा जिल्ला कमिटीका अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य, पार्टीका सचिवहरु भानुभक्त ढकाल, शेरधन राई, हिक्मत कार्की, केन्द्रीय कमिटीका सदस्यहरु, सांसदहरु, नेकपा (एमाले) कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा लगायत नेताहरु अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।  

हामीसँग जोडिनुहोस्