केपी शर्मा ओली

अध्यक्ष

केपी शर्मा ओली बारे

केपी शर्मा ओली

समृद्ध नेपाल, सुखी नेपाली अभियानको नेतृत्वकर्ता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)का अध्यक्ष केपी शर्मा ओलीको ७५ वर्षे जीवन अवधिलाई तीन खण्डमा बाँडेर हेर्न सकिन्छ ।

पहिलो खण्ड – एउटा निम्न मध्यम वर्गीय परिवारमा जन्मेको एक बालक, जसले आफ्नो किशोर उमेरको मनोरोमाञ्चक समयलाई राजनीतिक अधिकार, समाजिक न्याय, समानता र देशभक्तिको आन्दोलनमा होम्यो र आफ्नो निजी सुखका सबै बाटाहरु बन्द गरायो । लोकतन्त्रका लागि लामो संघर्ष, जेलनेल, पटक पटक कठोर यातना र मृत्युसँग साक्षत्कार गरेर व्यवस्था फे¥यो ।

दोस्रो खण्ड– जसले लोकतान्त्रिक व्यवस्थाको संस्थागत स्थापना, राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको आचरणसिद्ध प्रयोग, उग्रता र भड्काउहरुबाट समाजको रक्षा र जनताको जीवनमा सुख बहालीको मार्गचित्र निर्माणमा लगायो ।

अध्यक्ष ओलीको जीवनका यी दुई खण्डहरुमा ओलीलाई लोकतान्त्रिक प्रणालीमा निर्माण भएका संस्थाहरुको दुरुपयोगसँग लडिरहेको, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षामा सक्रिय रहेको, देशको भूराजनीतिक सामथ्र्य विस्तारमा लागिरहेको, दीर्घकालीन विकासका कार्यक्रम तथा आयोजनाका जग खनिरहेको र सामाजिक सुरक्षाको संरचनात्मक थालनी गरिरहेको देखिन्छ । यी काम अगाडि बढाउने क्रममा ओलीले अवरोधहरुको सामना गर्नु परेका अनेकौं दुःखद् घटनाहरु छन् । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अनेकौं कामहरु अघि बढिरहेका बेला ओलीका विरुद्ध अनेकौं भाष्य, आवरण र रुपका आक्रमण भएको देख्न सकिन्छ ।

सुक्ष्म रुपमा हेर्दा ओलीको जीवनको अर्को पाटो पनि छ– ज्ञान विवेचना र त्यसले पैदा गर्ने गुरुत्व । जसले केपी शर्मा ओलीलाई कम्युनिष्ट पार्टीको नेताको परिचयबाट ‘केपी बा’ मा विस्तार गरेको छ । सहज सामाजिक अन्तक्र्रिया, समाजका सबै पेशागत र सिर्जनात्मक क्षेत्रमाथिको दृष्टि, विषयगत अध्ययन र संवाद शैलीले उहाँलाई अनुयायी र आलोचक दुबैथरीका बीचमा पु¥याएको छ । त्यसैले अध्यक्ष ओलीलाई अनुयायीहरुले हृदयमा राखेका छन् भने विरोधीहरु पनि उहाँलाई आफ्नो मष्तिष्कमा राख्न बाध्य छन् ।

ओलीको त्यही सामाजिक गुरुत्वका कारण राजनीतिमा देखिन मिल्ने र नमिल्ने, देखिने र नदेखिने शक्तिहरुको उहाँ बिरुद्ध मोर्चाबन्दी हुने गरेको छ । ओलीको यही सामथ्र्य समकालीन राजनीतिको विरोधी कित्ताले भयका रुपमा लिएको देखिन्छ र उनीहरुले सबैभन्दा बढी दानवीकरण गर्ने पात्रमा उहाँ पर्नुहुन्छ ।

केपी शर्मा ओलीले राजनीतिको यस शिखरसम्म आइपुग्न हरबखत मृत्युसँग ठोक्किएको ६० वर्ष लामो संघर्षपूर्ण राजनीतिक यात्रा पार गर्नु भएको छ । १४ वर्ष लामो कठोर जेलनेल, यातना र दमन बेहोर्नु भएको छ । सँगसँगै उहाँले पहिलो पटक सरकारको नेतृत्वमा पुगेको समयदेखि मुलुकमा विकास र समृद्धिको काम थालनी गरेर एउटा उचाइमा पु¥याउनु भएको छ । मुलुकको शक्तिसाली पार्टीको अध्यक्ष र देशको कार्यकारी प्रमुखसम्म बन्न पुगेको ओलीको राजनीतिक यात्रा पाइला पाइलामा मृत्युको खतरा बोकेर हिंडेको प्रतिबन्धित पार्टीको एउटा साधारण तहको कार्यकर्ताबाट सुरु भएको हो ।

पछिल्लो पटक २०८२ मंसीरमा भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट उहाँ पार्टी अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो । यसअघि २०७८ मंसीर १० गते चितवनमा लाखौं जनताको सहभागितामा भएको दशौं महाधिवेशनबाट ओली दोस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित हुनु भएको थियो । 

अध्यक्षमा निर्वाचित हुनुअघिको बन्दसत्रलाई सम्बोधन गर्दै उहाँले भन्नु भएको थियो– ‘म धेरैपल्ट जीर्ण स्वास्थ्य अवस्थाबाट, धेरै जटिल अप्रेशनहरुबाट गुज्रिएर आएको हुँ । भन्न सक्दिनँ, म कति बाँच्छु । तर, मलाई आज सन्तोष लागेको छ, किनभने म तपाईंहरुलाई आफ्नो अगाडि देखिरहेको छु। जब म तपाईंहरुका हिम्मती चेहराहरु देख्छु– म देशको भविष्य सुरक्षित देख्छु, आन्दोलनको भविष्य सुरक्षित देख्छु, पार्टीको भविष्य सुरक्षित देख्छु, लोकतन्त्रको भविष्य सुरक्षित देख्छु । र, सर्वोपरि कुरा त समृद्धिको यात्रा सुरक्षित र सुनिश्चित रुपमा अगाडि बढ्छ भन्ने कुराको एकीन देख्छु ।’

लोकतन्त्रमा जनताको र पार्टीमा कार्यकर्ताको सर्वोपरि निर्णायकत्वमा ओलीको आचरणसिद्ध निष्ठा रहेको यस भनाइले देखाउँछ । ओली स्वयंको जीवन लोकतन्त्रका लागि कठोर र यातनापूर्ण संघर्षले भरिएकोले लोकतन्त्र प्रतिको निष्ठामा उहाँका अभिव्यक्तिमा मात्रै निर्भर रहनु पर्दैन । किनभने मृत्युको मुखसम्म पुगेर सार्पित गरेको उहाँको जीवन नै लोकतान्त्रिक आन्दोलनको अध्ययनयोग्य पाठः बनेको छ ।

त्यसअघि ओली २०७१ साउनमा पहिलो पटक पार्टी अध्यक्ष निर्वाचित हुनु भएको थियो ।

११ औं महाधिवेशनको तीन महिनाअघि मात्रै देशमा महाविनाशकारी आक्रमण गरी राज्यका महत्वपूर्ण र संवेदनशील अंगहरुमा आगजनी गरी उहाँले नेतृत्व गरेको सरकारलाई अपदस्त गरिएको थियो ।

परिचित नेतृत्व विना नै लामो समयको अदृश्य तयारीबाट गरिएको त्यस आक्रमणले मुलुकमा भर्खरै जग बसेको विकासलाई अनिश्चित बनाएको छ भने लोकतान्त्रिक प्रणालीमाथि प्रहार सुरु गरेको छ । जनताका वास्तविक समस्याबाट समाजको ध्यान अन्यत्र भड्काउन असंवैधानिक र गैरकानुनी फण्डाहरुको तमासा प्रदर्शन भइरहेको छ ।

उहाँको कार्यकालमा विकासका आयोजना र पूर्वाधार निर्माणका काममा हुने गरेको बहस रोकिएको छ, अब त्यसको ठाउँ सामाजिक सञ्जालका परिणामहीन फण्डाहरुले लिन थालेको छ ।

अध्यक्ष ओली नेतृत्वको सरकारले जनताको जीवनमा परिवर्तन ल्याउन नेपाललाई आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउने काम अघि बढाएको थियो । सरकारले अवलम्बन गरेका नीतिहरुमा देशको आत्मनिर्भरताका दीर्घकालीन छनकहरु आउन थालेका थिए ।

ओली सरकारले थालनी गरेका काम दूरगामी महत्वका थिए । निराशा, अन्यौल, विपन्नता र पछौटेपनको अंध्यारो छाएको नेपाली राजनीतिको क्षितिजमा आशा, भरोसा, राष्ट्रको समृद्धि र जनताको सुखको बहस आरम्भ भएको थियो ।

तर उहाँले नेतृत्व गरेको सरकार हटाइएपछि ती सबैजसो विकास अभियान अबरुद्ध भए । नेपाली राजनीति जनताको जीवनमा परिवर्तन ल्याउने काममा होइन, सामाजिक सञ्जालमा प्रतिक्रिया उत्पन्न गर्ने परिणामहीन तमासामा बदलिएको छ ।

राजनीतिको प्रचलित भाष्य भन्दा अध्यक्ष ओलीको चिन्तन भिन्न रहेको कुरा सरकारबाट हटेपछि उहाँको यो भनाइले देखाउँछ–

‘जनादेशबाट, जनताको समर्थनको अभावमा, हाम्रो कार्यक्षमताको अभावमा वा असफलताको कारणले हामी सरकारबाट हटेका होइनौं । षडयन्त्रका कारणले, असंवैधानिक ढंगले, राजनीतिमा संलग्न हुन नहुने, गराउन नहुने शक्तिहरु संलग्न भएर हामीलाई सरकारबाट हटाइयो । त्यसै कारणले देश अस्थिरता र अन्योलको दौरबाट गुज्रिरहेको छ । हामी सरकारमा नरहेको चिन्ता होइन, देशलाई पछि पारिएकोले चिन्ता बढेको छ ।’

राजनीतिक जन्म

केपी शर्मा ओलीको राजनीतिक जन्म झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत संघर्षको गर्भबाट भएको हो । त्यसभित्र देशभक्ति, लोकतन्त्र र सामाजिक न्याय समानता र जागरणको धारा समाहित छ।

देशभक्ति, लोकतन्त्र, सामाजिक जागरण र विकासको भावधाराबाट सुरु भएको नेपालको कम्युनिष्ट आन्दोलनलाई व्यवहार र आचरणको संगति कायम गर्न ओली सफल हुनु भएको छ । निरंकुश शासनसत्ताले टाउकोमाथि हर्दम मृत्युदण्डको तरबार झुण्ड्याएको एक बन्दी हुँदा होस् वा मुलुकको कार्यकारी प्रमुखका रुपमा सिंहदरवारमा आसीन हुँदा– ती दुबै ठाउँमा उहाँ एउटै उद्देश्यमा समर्पित हुनु भयो ।

उहाँले सरकारमा हुँदा उहाँले देश विरुद्धको नाकाबन्दीको सामना गर्नु भयो । चीनसँगको पारवहन सम्झौता गरेर कहिल्यै नाकाबन्दी लाग्न नसक्ने अवस्थाको निर्माण गर्नु भयो । उहाँ सरकारमा हुँदा लिम्पियाधुरा–लिपुलेकसम्मको छुटेको भूभागलाई समेटेर जारी गरिएको देशको नयाँ नक्साले देशको सार्वभौम स्वाधीनतालाई उचाइमा पु¥याएको थियो र कुटनीतिक प्रक्रियाद्वारा गुमेको भूमि प्राप्त गर्ने अभियान अघि बढाइरहनु भएको थियो । उहाँ नेतृत्वको सरकारले विकास निर्माणका काममा दिएको तीव्रता, सामाजिक सुरक्षाका कार्यक्रम आदिले कम्युनिष्ट आन्दोलन थालनी र अहिलेको काम बीचको संगतिका सामान्य झलक दिन्छन् ।

ओलीले भन्नु भएको छ– ‘हामीले सुरुदेखि नै देशभक्तिको धारा, त्यसको अभिभारा, लोकतान्त्रिक आन्दोलनको धारा, त्यसको अभिभारा, सामाजिक जागरण र परिवर्तनको धारा र यी तीनवटै अभिभारालाई अगाडि बढाउँदै आयौं । आज हाम्रो पार्टी यी तीनवटै सन्दर्भमा राष्ट्रिय, अन्तर्राष्ट्रिय नीति र व्यवहारहरु तथा सम्बन्धहरुको सञ्चालनका सन्दर्भमा अत्यन्तै स्पस्टताका साथ र एउटा हैसियतका साथ स्थापित छ ।’

सुदूर पूर्वी जिल्ला तेह्रथुमको आठराई इवा गाउँको साधारण किसान परिवारमा २००८ साल फागुन ११ गते ओलीको जन्म भयो । चार वर्षको उमेरमै आमाको निधन भएपछि उहाँ मातृस्नेह विमुख हुन पुग्नु भयो । आमाको स्नेही काख गुमाउनु भएका ओलीको पालनपोषण हजुरआमाबाट भयो ।

ग्रमीण किसान परिवारका बालबालिकामा पारिवारिक भारको रुपमा रहने गाईबस्तु चराउने, घाँस काट्ने, खाना पकाउने, भाँडा माझ्ने सबैजसो काम उहाँले गर्नु भयो ।

आफ्नो बाल्यकालबारे सोधिएको प्रश्नमा टेलिभिजन अन्तरवार्तामा उहाँले भन्नु भएको छ– ‘हाम्रो परिवारमा त्यसबेला छोरीहरु थिएनन् । हजुरआमा मात्र रहनु भयो । हजुरआमाले बढारेको देखेपछि मलाई पनि बढार्नु पर्छ भन्ने लाग्यो, मैले त्यही सिकें । उहाँले घर पोतेको देखेपछि घर पोत्नु पर्छ भन्ने लाग्यो र घर पोत्ने लिप्ने काम पनि गरें । भाँडा माझेको देखेपछि भाँडा माझ्ने गर्दै मैले हजुरआमाले गर्ने घरायसी कामहरु सबैजसो गरें । ब्रतवन्ध भएपछि मैले खाना पकाउन पनि सिकें । खाना पकाउने, भाँडा माझ्नेदेखि लिएर तरकारी काट्ने, मसला पिस्ने, वत्ति बाल्ने धागो कात्ने, गाइबस्तु चराउने, अलि पछि भकारो सोहोर्ने, कुँडोपानी खुवाउँने, सबै काम म गर्थें। मलाई पढ्न र घरका कामहरू गर्न आनन्द लाग्थ्यो ।’

तेह्रथुम छोडेर २०२० सालमा उहाँको परिवार झापा बसाइँ स¥यो । नयाँ ठाउँमा नयाँ साथी संगतिहरु फेला परे । नयाँ ठाउँमा नयाँ साथीहरु भेट्दा समाजका चालचलन र वरपरका घटनाहरुबारे जिज्ञासा र प्रश्नहरु जन्मिन्छन् । हरेकजसो विषयमा जिज्ञासा राख्ने स्वाभावले ओलीलाई समाजभित्र हुने हेलाहोचो, भेदभाव र पक्षपातका प्रश्नहरुको उत्तर खोज्नतिर प्रेरित ग¥यो ।

एकातिर मनमा उब्जिँदै गरेका जिज्ञासाहरु र अर्कोतिर संगतमा आएका नयाँ साथीहरु– यसले उहाँको राजनीतिक जीवनको भ्रुँण तयार ग¥यो ।

यसै क्रममा १५ वर्षीय किशोर उमेरमै २०२३ सालमा उहाँ माक्र्सवादी अध्ययन दलमा सामेल हुनु भयो । यसमा मुख्य अगुवा हुनुहुन्थ्यो रामनाथ दाहाल । दाहाललाई पछि पञ्चायती सरकारले जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर गोली हानी हत्या ग¥यो, जो झापा आन्दोलनका शहीद हुनुहुन्छ ।

माक्र्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै उहाँ पूर्णकालीन राजनीतिमा सामेल हुनु भयो । २०२५ सालमा पूर्णकालीन राजनीतिमा सामेल हुँदा उहाँ १७ वर्षको हुनुहुन्थ्यो । पूर्णकालीन राजनीतिमा सामेल भएको एक वर्षमै २०२६ माघमा उहाँले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता पाउनु भयो । पार्टी सदस्यता पाएको वर्ष नै पहिलो पटक उहाँ गिरफ्तारीमा पर्नु भयो । त्यसपछिका ४ वर्षको अवधिमा ओलीलाई सरकारले १० पटक गिरफ्तार गरेको थियो ।

झापा बसाइँ सरेपछि ओलीका बुबा एउटा विद्यालयको जग्गा ठेक्कामा लिएर खेतीकिसानीमा लाग्नु भएको थियो । जग्गा भाडामा लिएर खेती गर्दा राम्रै कमाइ भइरहेको थियो, तर खोला पसेर जग्गा बगायो । त्यसपछि राम्रै आम्दानी भएको परिवार झण्डै सुकुम्बासीको स्थितिमा पुग्यो । त्यसबेला ओली भारी बोक्ने बाहेक खेती किसानीमा बुबालाई सघाउनु हुन्थ्यो ।

‘म पढ्न स्कूल पनि गइरहेको थिएँ र काम पनि गरिरहेको थिएँ । म भारी बोक्ने बाहेक सबै काम गर्थें, मैले नसक्ने भनेको भारी बोक्ने काम मात्रै हो । खोलाले जमिन बगाएपछि हामीले अलिअलि जग्गा किन्न सुरु ग¥यौं । स्कूलको जमिन ठेक्कामा कमाउँदा हाम्रो आर्थिक अवस्था धेरै सुदृढ थियो । त्यसबेला हामी धनी किसानको स्थितिमा थियौं । त्यसपछि हामी गरिब किसानको स्थितिमा र एकपटक सुकुम्बासीको स्थितिमा झर्नुप¥यो ।’ उहाँले आफ्नो पारिवारिक स्थितिबारे वताउनु भएको छ । 

राजनीतिक जन्म (जारी)

परिवारको आर्थिक अवस्था सम्हाल्न आफैंले काम गर्नु पर्ने अवस्था भए पनि उहाँ भूमिगत राजनीतिमा सामेल भइसकेकाले त्यता लाग्न पाउनु भएन । ‘म परिवारको स्थिति सम्हाल्नेतिर लाग्न पाइनँ, किनभने म राजनीतितिर लागिसकेको थिएँ । त्यसले बुवालाई अलिकति असहज भयो’ पारिवारिक समस्या छोडेर राजनीतिमा लागेका दिनलाई उहाँ यसरी सम्झिनुहुन्छ ।

यता ठेक्का लिएर कमाइ गरेको जग्गा खोलाले बगाउनु, उता उहाँ कम्युनिस्ट पार्टीको पूर्णकालीन कार्यकर्ताको जिम्मेवारीमा रहनु– यो घटना उहाँको राजनीतिक यात्राको वीजजस्तै बन्यो । फलदायी बृक्ष यस्तै कठिनाइको गर्भबाट जन्मन्छ भन्ने दृष्टान्तका रुपमा यसलाई लिन सकिन्छ । किनभने यही समयको आसपास २०२८ सालमा ओली झापा आन्दोलन कमिटीको प्रमुखमा मनोनीत हुनु भएको थियो, जुन आन्दोलनको तापबाट आजको नेकपा (एमाले)को जग बसेको हो । त्यो एउटै समयबिन्दु थियो– जुन समयबाट केपी शर्मा ओलीको निजी पारिवारिक जीवन अनिश्चित बन्दै गयो र कम्युनिष्ट पार्टीको जीवनले नयाँ सिंढीमा पाइला टेक्यो ।

देशमा निरंकुश पञ्चायती व्यवस्था थियो, जनतामा राजनीतिक दल खोल्ने, बोल्ने, लेख्ने अधिकार थिएन । स्वतन्त्र राजनीतिक चेतनाका लागि समाज कठोर कारागारजस्तै थियो । न्याय, समानता, स्वतन्त्रता र मानव अधिकारको पैरवीलाई अपराधका रुपमा लिइन्थ्यो । न्याय र समानताको माग गर्दै ओलीको नेतृत्वमा झापा आन्दोलन संगठन कमिटी गठन भएपछि पञ्चायती शासनले त्यसमाथि तीब्र र कठोर दमन ग¥यो । ओली लगायत झापा आन्दोलनका क्रान्तिकारीहरु २०३० साल असोज २३ गते पक्राउ परे ।

ओलीले ४ वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास विताउनु भयो भने उहाँका ५ जना सहयोद्धाहरुलाई जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर गोली हानी हत्या गरियो ।

जेल सार्ने बहानामा ओलीको पनि हत्या गर्ने प्रयास प्रहरीका सवइन्स्पेक्टर मोहनप्रसाद अधिकारीका कारण सफल हुन सकेन ।

त्यस घटनाबारे ओलीले सुनाउनु भएको छ– ‘गौर थानाबाट वीरगञ्ज जेल सार्ने भनी रातिको समयमा मलाई निकालियो । मलाई प्रहरीको भ्यानमा राखिएको थियो । तर, वीरगञ्ज नपु¥याउँदै बीचको जंगलमा भाग्न खोजेको अभियोग लगाउँदै मार्ने योजनासाथ जेलसारी गरिएको रहेछ । मलाई हत्कडी लगाइएको थियो, वरिपरि प्रहरी जवानहरू थिए । उनीहरूका साथमा मेरो लास पुर्न खाल्डो खन्ने ज्यावल औजारहरू पनि थिए । तर, सइ मोहनप्रसाद अधिकारीका कारण त्यो दिन मेरो ज्यान जानबाट जोगियो ।’

जेलभित्रको पनि जेल मनिने गोलघर जहाँ मानसिक स्थिति बिग्रेकाहरूलाई राखेर यातना दिइन्छ, त्यहाँ राखेर उहाँलाई चरम यातना दिइन्थ्यो ।

उहाँकी धर्मपत्नी राधिका शाक्यले जेल जीवनमा दिइएको यातनाबारे लेख्नु भएको छ– ‘गोलघरभित्र उहाँलाई सिधा उभिन, खुट्टा तन्काएर सुत्न, दिसा पिसाबको लागि बाहिर जान छुट थिएन । त्यहीँ खाने, त्यहीँ शौच गर्ने दुर्गन्धयुक्त गोलघरको छिँडीमा मुसाले फोहोर छिटेर लडाइँ गर्थे । शौचालयको सेफ्टीट्याङ्कीबाट दिसा निकालेर मुसाले जीउभरि फोहर पारिदिन्थे । ओढ्ने÷ओछ्याउने लुगा हरहमेसा ओसले भिजेको अवस्थामा हुन्थ्यो । आजको सभ्य समाजका लागि यो कल्पनातीत विषय हो ।’

संयोगवश मृत्युको मुखबाट फर्किनु भएका ओली जेलमै रहंदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिष्ट पार्टी (माले)को संस्थापकको हैसियतमा रहनु भयो । जेल भित्रै निर्मम यातनाको सामना गरिरहेको एउटा नेताले जेल बाहिर ठूलो राजनीतिक उथलपुथल सिर्जना गर्न सफल रह्यो ।

२०४४ साल असार ११ गते जेलबाट रिहा भएपछि सोही वर्षको पुस २ मा बसेको नेकपा (माले)को केन्द्रीय कमिटी बैठकले उहाँलाई केन्द्रीय सदस्यमा मनोनयन ग¥यो र पञ्चायती व्यवस्था बिरुद्धको आन्दोलन परिचालन गर्न लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी तोक्यो ।

नेकपा (माले) समेतको नेतृत्वमा सञ्चालित जनआन्दोलनले निरंकुश पञ्चायती व्यवस्था पराजित भएपछि २०४७ जेठ १ गते ओली पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष बन्नु भयो ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकरण र विस्तार गर्ने क्रममा २०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (माक्र्सवादी)बीच पार्टी एकीकरण भएर नेकपा (एमाले) बन्यो र एकीकृत पार्टीमा ओली केन्द्रीय सदस्य रहनु भयो ।

बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा संसद्को तल्लो सदन प्रतिनिधिसभाको सदस्यमा ओली झापा–६ बाट निर्वाचित हुनुभयो । त्यसको तीन वर्षपछि भएको मध्यावधि निर्वाचनमा पनि झापा–२ बाट उहाँ प्रतिनिधिसभा सदस्य चुनिनु भयो । यसै बीचका विभिन्न समयमा ओली पार्टीको पोलिटव्युरो सदस्य सहित विदेश विभाग, प्रचार विभाग र संसदीय विभाग प्रमुखको जिम्मेवारीमा रहनु भयो ।

ग्रामीण वर्गसंघर्षको गर्भबाट राजनीतिक जन्म लिएका ओली निरंकुश व्यवस्था बिरुद्धको कठिन संघर्षबाट खारिंदै बहुदलीय व्यवस्था प्राप्तिपछि २०५१ सालमा पहिलो पटक मुलुकको गृहमन्त्री हुनुभयो । मनमोहन अधिकारीको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित कम्युनिष्ट सरकारमा उहाँले सफल गृहमन्त्रीको मानक स्थापित गर्नु भयो ।

कामकै दौरानमा बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर नेपालगञ्जबाट फर्किंदा प्रधानमन्त्री मनमोहन अधिकारीसहित गृहमन्त्री रहनु भएका ओली हेलिकोप्टरको त्रासद् दुर्घटनामा पर्नु भयो । पाइलट किशेन्द्रबहादुर शाहीको कुशलताका कारण उहाँहरु दुर्घटनाबाट बच्न सफल हुनु भयो।

पार्टी प्रमुखको रुपमा नरहे पनि पार्टीको वैचारिक मार्ग पहिल्याउने अग्रणी नेताका रुपमा ओलीमाथि नै कार्यकर्ताको भरोसा रहने गर्दथ्यो भन्ने तथ्य २०५४ माघमा भएको नेकपा (एमाले)को छैठौं राष्ट्रिय महाधिवेशनले पारित गरेको कार्यनीतिक प्रस्तावले प्रमाणित गर्दछ ।

नेपालगञ्जमा भएको महाधिवेशनमा ओलीले प्रस्तुत गर्नु भएको ‘शक्ति सञ्चय’को कार्यनीति महाधिवेशनले अत्यधिक मतले पारित गरेको थियो ।

महाधिवेशनबाट ओली पार्टी स्थायी समिति सदस्य र विदेश विभाग प्रमुखमा चुनिनु भयो । जनकपुरमा २०५९ सालमा भएको पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा ओलीले पार्टीको आन्तरिक लोकतान्त्रिकरण गरी बहुपदीय प्रणालीमा जाने प्रस्ताव प्रस्तुत गर्नु भयो । तर, महाधिवेशनले उक्त प्रस्ताव अर्को महाधिवेशनसम्मका लागि भन्दै स्थगित ग¥यो । जुन प्रस्तावलाई २०६५ सालमा बुटवलमा भएको आठौं राष्ट्रिय महाधिवेशनले पारित ग¥यो । उहाँको प्रस्तावलाई महाधिवेशनले पारित गरे पनि उहाँ पार्टी अध्यक्षमा तत्कालीन अध्यक्ष झलनाथ खनालसँग झिनो मतान्तरले पराजित हुनु भयो ।

मुख्य नेता जो भए पनि ओलीको नीतिगत दिशानिर्देशमाथि पार्टी कार्यकर्ताको भरोसा रहेको कुरा आठौं राष्ट्रिय महाधिवेशनले स्थापित गर्‍यो । त्यस परिघटनाले उहाँलाई समाजको पदचाप बुझ्न सक्ने नेताका रुपमा नेकपा (एमाले)को कार्यकर्ता पंक्तिले अनुभूत गरेको पाइन्छ ।

उग्रवामपन्थी अतिवादले सिर्जना गरेको दबदवा र त्यसभित्र निहीत दक्षिणपन्थी अवसरवादको आधारभूमिलाई ओलीले समयमै बुझ्नु भएको कुरा नेपालको सिंगो राजनीतिक वृत्तमा महसुस हुन थाल्यो ।

त्यस बिन्दुबाट केपी शर्मा ओलीको परिचय पार्टीको मात्रै नेता नभएर देशको समग्र राजनीतिक वृत्तको ध्यान खिच्ने र आफ्नो मार्गदर्शनमा हिंडाउन सक्ने नेताका रुपमा स्थापित भयो ।

२०५६ मा झापा ६ बाट प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित हुनु भएका ओली संसद्मा संसदीय दलको उपनेतामा निर्वाचित हुनु भयो ।

२०६३ सालको जनआन्दोलनले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गरेपछि ओली उपप्रधानमन्त्री र विदेशमन्त्री बन्नु भयो । ओली २०५७ देखि अफ्रो एसियन पिपुल्स सोलिडारिटी अर्गनाइजेशन नेपालको पनि अध्यक्ष हुनुहुन्छ ।

२०७० मंसीरमा झापा– ७ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनु भएका ओली त्यसलगत्तै माघमा भएको संसदीय दलका नेता चयनका लागि भएको निर्वाचनमा पार्टीका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गर्दै संसदीय दलको नेतामा निर्वाचित हुनु भयो ।

२०७१ साउनमा सम्पन्न पार्टीको नवौं राष्ट्रिय महाधिवेशनमा तत्कालीन वरिष्ठ नेता तथा लगातार १५ वर्षसम्म पार्टीको एकल नेतृत्व गर्नु भएका माधवकुमार नेपाललाई पराजित गर्दै ओली पार्टी अध्यक्षमा निर्वाचित हुनु भयो । तत्कालीन राजनीति तदर्थता र निर्णयहीनताको गोलचक्करको शिकार हुने गरेकोप्रति समाजमा चरम निराशा थियो ।

ओली पार्टी अध्यक्षमा निर्वाचित भएपछि पार्टीको भूमिकाको प्रभावकारिता बढेको आम राजनीतिक वृत्तमा चर्चा हुने गरेको थियो ।

पार्टीको आन्तरिक राजनीतिमा ओलीको निर्णायक हैसियतमा बृद्धि भएसँगै २०७२ असोज २४ गते उहाँ पहिलो पटक मुलुकको प्रधानमन्त्रीमा निर्वाचित हुनु भयो ।

ओलीको पहिलो प्रधानमन्त्रित्व काल सुरु भएका बेला नेपाल आफैंले संविधानसभा मार्फत् संविधान जारी गरेकोमा असन्तुष्ट रहेको बाह्य पक्षले नेपालमाथि ७ महीनासम्म नाकाबन्दी लगाएको थियो ।

त्यसलाई नेपालको हित प्रतिकूल नहुनेगरी तोड्ने कामको नेतृत्व ओलीले गर्नु भयो । उहाँले उत्तरी छिमेकी देश चीनसँग पारवन सन्धि गरेर भुपरिवेष्ठित स्थितिबाट भूजडित हैसियतमा पु¥याउने ऐतिहासिक काम गर्नु भएपछि इतिहासदेखि पटक पटक लाग्दै आएको नाकाबन्दी आउने दिनमा कहिल्यै लाग्न नसक्ने स्थितिको सिर्जना भयो । यस भूमिकाले इतिहासमा नेपालको भूराजनीतिक उचाइ बढाउने प्रधानमन्त्रीको रुपमा ओलीको नयाँ छवि निर्माण भयो ।

‘भुगोलको आधारमा देश सानो वा ठूलो हुन सक्छ, तर हरेक देशको सार्वभौमसत्ता समान हुन्छ’ भन्ने उहाँका यी भनाइ पछिल्ला कदमहरुले पुष्टि गरे । ओलीको सरकारले देशको सीमा रक्षामा अवलम्बन गरेका नीतिले उहाँले भूराजनीतिक प्रहार पनि खेप्नु पर्‍यो । राष्ट्रको हित, लोकतन्त्रको अवलम्वन र सामाजिक परिवर्तनमा ओलीले चालेका कदम र अडानहरुमा उहाँको छवि प्रतिविम्वित हुन पुग्यो ।

राष्ट्रको स्वाधीनता र स्वाभिमानमाथि बाह्य पक्षको थिचोमिचो हुँदा दृढतापूर्वक उभिने ओलीको विदेश नीति सबैसँग मित्रताको पक्षमा मुखर हुने गरेको छ । नेपालको परराष्ट्र नीति ‘सबैसँग मित्रता, छैन कसैसँग पनि शत्रुता’ भनेझैं अध्यक्ष ओलीले भन्नु भएको छ– ‘हामी सबैसँग मित्रता चाहन्छौं । हामी समानताका आधारमा, न्यायका आधारमा, अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा मित्रता खोज्दछौं ।’

नेपालले पटक पटक भोग्दै आएको नाकाबन्दी देशको स्वाभिमान, स्वतन्त्रता र आत्मनिर्भरताका लागि इतिहासदेखिको पीडादायी उपक्रम थियो । ओलीले उत्तरी छिमेकी चीनसँग पारवहन सन्धि गरी त्यस समस्याबाट मुक्त गर्दै नेपालको आत्मबल बढाउनु भयो । देशको भूराजनीतिक अवस्थितिलाई यसले नयाँ धरातलमा पु¥याएको तथ्य स्वीकार गर्न सबै पक्ष वाध्य छन् । तर, ओलीको यही भूमिका सरकारबाट हट्नु पर्ने नेपथ्य कारण बन्न पुग्यो ।

राष्ट्रको हितमा ऐतिहासिक काम गरेकै कारण पहिलो पटक प्रधानमन्त्री बनेको नौ महीनामै हटाइनु भएका ओलीको त्यही लोकप्रियताको जगमा २०७४ सालमा भएको स्थानीय चुनाव तथा सोही वर्ष भएको आम निर्वाचनमा नेकपा (एमाले) धेरै ठूलो मत र सिटको अन्तरमा पहिलो दल बन्न पुग्यो । तर, सरकार सञ्चालन गर्न आवश्यक बहुमत अझै पनि नेकपा (एमाले)सँग थिएन ।

यही पृष्ठभूमिमा २०७४ सालको आम निर्वाचनपछि नेकपा (माओवादी केन्द्र) समेतको समर्थनमा ओली २०७४ फागुन ३ गते मुलुकको ४१ औं प्रधानमन्त्री नियुक्त हुनु भयो ।

दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि ओलीको पहलमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच २०७५ जेठ ३ गते पार्टी एकीकरण भयो । पार्टी एकीकरणको नियत र गन्तव्यमा भने ओली र अन्य केही नेताहरुका बीच भिन्नता रहेको तथ्य झण्डै तीन बर्षपछि भएको पार्टी विभाजनले पुष्टि पर्‍यो ।

२०८१ साउन १ गते ओली तेस्रो पटक प्रधानमन्त्री हुनु भयो । संसद्को त्रिशंकु गणितमा टेकेर अस्थिरता बढेपछि संसद्को प्रमुख दल नेपाली कांग्रेसको प्रस्तावमा ओली प्रधानमन्त्री बन्नु भएको थियो । तर, त्यसको १४ महिना पूरा नहुँदै जेनजी आन्दोलनका नाममा गराइएको आक्रमणपछि अपदस्त हुनु पर्‍यो ।

पुनरुत्थान, पुनर्थालनी र पुनर्जागरण

पछिल्लो शताब्दीको नेपाली राजनीतिक चक्र लोकतान्त्रिक व्यवस्था प्राप्ति र प्रतिगमनका आरोह अवरोहमा वितेका थिए । संविधानसभाले पहिलो पटक संविधान बनाएपछि ओलीले नेपालको सामाजिक राजनीतिक चिन्तनको वहावलाई अर्थतन्त्रको सुदृढिकरण, पूर्वाधारको विकास, संस्कृतिको पुनरुत्थान र पुनर्थालनीमा फर्काउन थाल्नु भयो । नेपालको आत्मनिर्भरता र सक्षमतासँग विमति राख्नेहरुका लागि यो खुसीको विषय थिएन, त्यसैले ओलीमाथि प्रहार पनि उत्तिकै भयो ।

प्रणालीमा स्थिरता कायम गर्ने, जनतामा जागरण र आशा जगाउने, सामाजिक पूर्वाधार, भौतिक पूर्वाधार र आर्थिक विकासको नयाँ थालनी गर्ने र त्यसले जनताको जीवनमा परिवर्तन ल्याउने नयाँ भाष्य ओलीले तयार गर्नु भएको थियो– समृद्ध नेपाल, सुखी नेपाली ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूर्णतामा पु¥याउने नीतिगत आधार, तदनुसारका योजना, कार्यक्रम र तिनको कार्यान्वयनका आधारहरु समेत तय भए । ओली नेतृत्वको सरकारले पहिलो तीन वर्षे र पछिल्लो १४ महिने अवधिमा त्यसलाई कयौं अवरोधबीच कार्यान्वयनमा अघि बढाएको थियो । हरेक पालिकाहरुमा आधारभूत अस्पताल निर्माणको थालनी होस् वा हरेक निर्वाचन क्षेत्रलाई जोड्ने कृषि सडकका कार्यक्रमहरु– ती त्यसै तर्फका पाइला थिए ।

ओली सरकारले तय गरेको दिशा र त्यसतर्फको तदारुकता मापन गर्न तराई मधेसका बासिन्दाले एउटा दृष्टान्त दिने गरेका छन्– देशमा सधैं सरकारहरु थिए, प्रधानमन्त्री पनि थिए, प्राकृतिक विपत्ति पनि हरेक वर्ष आउँछ । तर बारा पर्सामा एक रातमा आएको टोर्नाडो (हुरी)ले घरबार गुमाएका ८ सय ७९ परिवारलाई पाँच महिनामै पक्की घर बनाएर दिने तत्परता देखाएको सरकार चाहिँ ओली सरकार नै हो ।’

प्रधानमन्त्रीको रुपमा ओलीको दोस्रो कार्याकाललाई देश निर्माणको पुनर्थालनीको शिलान्यास भन्न सकिन्छ । चीन र भारत जोड्ने उत्तर–दक्षिण रेलमार्ग, पूर्व–पश्चिम रेल्वे, विभिन्न ठाउँमा सुरुङ मार्ग, राजमार्गहरुको विस्तार, मध्यपहाडी लोकमार्ग निर्माण, सुनकोशी मरिन डाइभर्सन लगायतका सिंचाइ आयोजना, र फलाम खानीको निर्माण थालनी राष्ट्र निर्माणको पुनर्थालनी तर्फका पाइला थिए ।

नागरिकहरुको आत्मविश्वासले मात्र देशमा परिवर्तन ल्याउन सकिने ओलीको विश्वास देखिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम त्यसैका लागि अघि सारिएका थिए ।

कृषि स्वरोजगारमा संलग्न युवा उद्यमीहरुसँग प्रत्यक्ष सार्वजनिक संवाद गरी उत्प्रेरणा जगाउने काम उहाँले निरन्तर गरिरहनु भएको छ ।

केपी शर्मा ओलीले आफ्नो सरकारलाई कृषिलाई उद्योगका रुपमा विकास गर्ने र त्यसलाई रोजगारी सिर्जना गर्ने तर्फ लक्षित गर्नु भयो । सातवटै प्रदेशहरुमा औद्योगिक ग्राम निर्माण गर्न उहाँले देखाउनु भएको अग्रसरताले यसलाई संकेत गर्छ ।

ओलीको निरन्तरको प्रयासले उहाँ नेतृत्वको सरकारले भूकम्प पछिको पुनर्निर्माणको कामलाई सम्पन्न ग¥यो । त्यस बीचमा ७ लाख ५० हजार नागरिकका निजी आवास, ५८९ सांस्कृतिक सम्पदा निर्माण, ७ हजार ५५३ विद्यालय, ७५१ स्वास्थ्य संस्थाहरु निर्माण सम्पन्न भए । ५७४ सरकार भवन र २१६ सुरक्षा निकायका भवन पुनिर्माण भए ।

ओलीले नेपालको भू–अवस्थितिलाई विश्वको ध्यान तान्ने विशेषताका रुपमा प्रस्तुत गरेर यहाँको सांस्कृतिक पुनरुत्थानमा ध्यान दिएको अनुभूत गराउने गर्नु भएको छ । यहाँको सभ्यता, प्राकृतिक सम्पन्नता, यहाँको प्राचीन ज्ञान परम्परा र औषधियुक्त वनस्पतीका विविधतालाई आफ्ना अभिव्यक्ति मार्फत निरन्तर प्रवद्र्धन गर्ने गर्नु भएको छ ।

‘हाम्रा हिमालहरुले कुलिङ सेन्टरका रुपमा काम गर्दछन् र हिमालमाथि हिउँ थुपारेर तिनले रिचार्ज सिस्टमको एउटा असाधारण प्राकृतिक प्रक्रिया पूरा गर्छन् । रिचार्ज सिस्टमले चट्टानहरुमा पानी सङ्गालेर विस्तारै हिँउ पगालेर झरनाहरु बनाउने, पहाडमा मूलहरु फुटाउने गरेका छन्’ उहाँले भन्नु भएको छ, ‘हामीले विश्व वातावरणमा यसको महत्व दुनियाँलाई बताउनु पर्छ । हामी वातावरणीय प्रश्नमा र गरिबी निवारणका लागि सबैसँग सहकार्य गर्न चाहन्छौँ । गरिबी र पछौटेपन आज मानव जातिको साझा समस्या छ । त्यसको निवारणका लागि सहकार्य गर्दै संयुक्त रुपमा अगाडि बढ्ने कुरामा हामी विश्वसँग सँगै काम गर्न चाहन्छौं ।’

महिला र किशोरीमाथि हुने यौन हिंसा, तेजाव आक्रमणजस्ता अपराधिलाई कारवाही गर्ने र पीडितहरुको आर्थिक सुरक्षाको ग्यारेन्टी गर्न उहाँले सरकारमा रहंदा प्रभावकारी कदम चाल्नु भयो । तेजाव आक्रमण लगायत महिला हिंसा बिरुद्धका कानुन अध्यादेश मार्फत जारी गराउनु भएको थियो।

राजनीतिलाई अधिकार प्राप्तिको संघर्षको चरणबाट राष्ट्रको विकास, पुनरुत्थान र पुनर्थालनीको दिशातर्फ आफूलाई केन्द्रित गर्दा उहाँले देशका राजनीतिक शक्तिहरुबीच एकता र सहयोगात्मक अपेक्षा राख्नु भयो । तर, शक्तिको अभ्यास सत्ता निर्माण र विघटनमा प्रयोग गर्ने परम्परागत राजनीतिक वृत्त त्यसका लागि अनुकूल हुन सकेन ।

ओलीले त्यस क्रममा घोषणा गर्नु भएको थियो–

‘हामी समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य तोकेर, त्यसलाई हाम्रो राष्ट्रिय आकांक्षा निर्धारण गरेर प्राप्त गर्ने अभियानमा लागेका छौं । देश भित्रका विभिन्न शक्तिहरु– जो सही ढंगले लोकतन्त्रको पक्षमा, राष्ट्रियताको पक्षमा, सुशासनको पक्षमा, लोकतन्त्रको यथार्थ अभ्यासको पक्षमा काम गर्न चाहन्छन्, जो समृद्धिका निम्ति काम गर्न चाहन्छन्, जो सामाजिक न्याय र समानताका लागि काम गर्न चाहन्छन्, जो सामाजिक सद्भाव बृद्धि गर्ने कुरामा काम गर्न चाहन्छन् र राष्ट्रिय एकता कायम गर्न चाहन्छन्, ती सबै शक्तिहरु र व्यक्तिहरुसँग पनि हामी मिलेर काम गर्न चाहन्छौं ।’

हामीसँग जोडिनुहोस्