नेकपा (एमाले) कार्यकर्तामा आधारित पार्टी हो । पार्टी जीवनका विभिन्न कठिन मोडहरूमा पार्टीलाई दुर्घटनाबाट जोगाउँदै र जनताको लोकप्रिय पार्टी बनाउने काममा पार्टी कार्यकर्ता र सदस्यहरूकै महत्वपूर्ण भूमिका रहेको छ । पार्टी सरकारमा रहँदा होस् वा प्रतिपक्षमा, जन–चाहना अनुरूप पार्टीलाई अगाडि बढाउने काममा पनि सदस्यहरूको भूमिका महत्वपूर्ण रहँदैआएको छ । पछिल्लो पटक मुख्य नेतृत्वमाथि चौतर्फी आक्रमण गरी हाम्रो पार्टीलाई समाप्त पार्ने षडयन्त्रबाट जोगाई आजको अवस्थामा ल्याउने काममा पनि पार्टीका आम कार्यकर्ता र सदस्यहरूको अमूल्य योगदान छ ।
यतिखेर सैद्धान्तिक, नैतिक र आर्थिक सबै हिसावले पार्टी पङ्क्तिलाई सुदृढ गर्न आवश्यक छ । विशेष गरी आर्थिक योगदानको पक्षलाई चलनचल्तीमा भनिने चन्दा÷दान–दातव्यको अर्थमा नभई भावनात्मक रूपमा जोड्न आवश्यक छ ।
यही पक्षलाई ध्यानमा राखी अहिले पार्टीले ‘पाँच हजारबाट पाँच हजार’ अभियान (फाइभ थाउजेण्ड बाई फाइभ थाउजेण्ड क्याम्पेन) सञ्चालन गरेको हो । यसले पार्टीलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउनुका साथै भावनात्मक रूपमा पार्टी सदस्यको पार्टीमाथिको स्वामित्व अझ बलियो हुने अपेक्षा गरिएको छ ।
२०७९ साउनमहिनादेखि लागु भएको यस अभियानको औपचारिक शुरूवातको दिनमा नै पचासजना कमरेडहरूले आफ्नो सहभागिता जनाउनु भएको छ । यस अभियानमा सहभागी हुनु हुने सबै कमरेडहरूलाई म हार्दिक धन्यवाद भन्न चाहन्छु । तपाईहरूको योगदानबाट पार्टी आत्मनिर्भरतातर्फ अगाडि बढ्ने छ भन्ने पूर्ण विश्वास लिएको छु ।